अवन्तिका पुरीः चित्रगुप्त धाम

रतीशचन्द्र लाल सुमन

एक पटक धर्मराजले सृष्टि निर्माता ब्रह्माजी सँग प्रार्थना गर्नु भयो । “हिनहरुमा निरन्तर बृद्धि भई रहेको छ संख्या यति बढ्दो छ कि उनीहरुको पाप र पुण्यहरुको अभिलेख उचित तरिकाले हुन सकेको छैन । जसले गर्दा उचित न्याय गर्नका लागि कठिनाई भई रहेको छ । अतः कृपा गरेर मलाई यस्तो सहयोगी दिनुहोस् जसले मेरो कर्तव्य निर्वाह गर्न निष्पक्ष रुपले सहायता गर्न सकोस ।” ब्रह्माजीले धर्मराजको अनुरोध माथि विभार गर्न थाल्नु भयो तर यथास्थितिमा कुनै वर्णको व्यक्तिले आफ्नो वर्ण प्रति पक्षपात गर्न सक्छ फलस्वरुप यज्ञराजलाई उचित न्याय सम्पादनमा बाधा उत्पन्न हुन सक्छ । यी सबै मनन गरी ध्यानमा लीन भएकै बेला ब्रम्हाजीको काया हृदय (चित्त)बाट एक पुरुष उत्पन्न भएर उनी समक्ष उपस्थित भए जसको हातमा कलम, मसी र पुस्तक थियो । ब्रम्हाले आफ्नो काया (चित्त)बाट उत्पन्न भएको पुरुषलाई आज्ञा गर्नु भयो । “तिम्रो नाम चित्रगुप्त रहने छ । तिमी मेरो मानव पुत्र हौ र मेरो काया (चित्त) हृदय बाट उत्पन्न भएकोले कायस्थ नामबाट प्रख्यात हुने छौं । धर्मराजको दरबारमा सँगै बसेर सबै जीवहरुको धर्म र कर्महरुको अभिलेख राख्ने गर । तिमीले धर्मराजलाई न्याय सम्पादनमा सहयोग गर्ने छौ र निष्पक्षता पूर्वक धर्म निर्वाह गर्ने छौं । तिमी धर्म रक्षक धर्म प्रापक हुने छौं ।” भगवान् चित्रगुप्तको उत्पति सम्बन्धमा अनेक कथा मध्ये उपरोक्त पनि एक हो । कथा धेरै छन् तर निष्कर्ष एउटैं छ कि ब्रम्हाजीको मानस पुत्रहरु मध्येएक चित्रगुप्त थिए र यिनी कायस्थको आदि पुरुष थिए । ब्रम्हाजीले कल्पना गर्दा त्यो मानवपुत्रको गुण यसप्रकार थियोः विद्यावास्च शुचिधीरो दाता परोपकारकः । राजसेवी क्षमाशीचः कायस्थ सप्तअक्षयः (स्कन्द पुराण) अर्थात धर्मराजले माँग गरेको अनुसार त्यो पुरुष विद्वान अर्थात ज्ञानी हुनुपर्छ । न्याय सम्पादन मा सहभागी हुने हुनाले सदाचारी, अविचलित हुनस पर्छ । न्याय सम्पादन सँग जोडिएको हुनाले लोभी हुनु हुँदैन । नाफा नोक्सान सोच्नु हुँदैन बरु दानविर (दाता) हुनु पर्छ । जसले निर्वललाई मद्दत पुगोस । साथै निस्वार्थ समाजसेवी, परोपकारी तथा क्षमाशील हुनु पर्छ जसले गर्दा दण्डितको समूह सानो हुने छ । चित्तगुप्त र यसका वंशजहरुमा यी सप्त गुणहरु देखिन्छन् । अपवाद त भगावान्को दरवारमा पनि छ । कथा यो पनि हो कि चित्तगुप्तका कार्यस्थान प्राचिन अवन्तिका पुरी वर्तमान उज्जैनको यमुना नदीको तीर (किनारा) मा थियो । महादेव अर्थात महाकालेश्वरको नगरी प्राचिन अवन्तिका (अंकपात क्षेत्र) जसलाई उज्जैनको नामले हामी जान्दछौं भगवान चित्तगुप्तको प्राचिन मन्दिर यसै स्थानमा छ । भगवान चित्रगुप्तले यसै स्थानको छिप्रा नदीको तीरमा तपस्या गरेका थिए । छिप्रा चम्वल नदीको शाखा हो र चम्वल यमुनामा विलय हुन्छ त्यसै कारणले होला चित्रंगुप्तको तपश्या र कार्यस्थल यमुनाको तीरमा मानिन्छ । र अव म कुरा गर्दैछु चित्रगुप्त धामको । भगवान चित्रगुप्तको यो मन्दिर पौराणिक दृष्टिकोणले पनि अति महत्वपूर्ण मन्दिर छ । यस मन्दिरको गर्भ गृहमा भगवान्को मूर्ति अत्यंत सुन्दर छ । जस्को एउटा हातमा पुस्तक छ भने अर्कोहातमा कलम छ जसले राम्रा र नराम्रा कर्मको लेखा राख्ने काम गर्दछ । यस मन्दिरमा महराज भगवान श्री चित्रगुप्त आफ्ना दुवै रानी इरावती र नंदनीको साथमा विराजमान हुनु हुन्छ । यसै मन्दिरमा धर्मराजको दुर्लभ चर्तुभुज मुर्ति पनि विराजमान छ । यो पनि अच्चम्मको कुरा हो जुन धर्मराज (यमराज) बाट सबै डराउँछन् र जसको अगाडि मनुष्य पर्न चाहदैन त्यै धर्मराज (यमराज) को दर्शन गर्दा यहाँ मानिसहरु प्रसन्न हुन्छन् । किन भने यस मन्दिरका मुर्तिहरु कलात्मक सुन्दर र दर्शनीय छन् । सामान्य रुपमा हामी मन्दिरमा जाँदा फूल, प्रसाद माला, धुप लिएर जाने गर्दछौ तर यस मन्दिरमा दर्शनार्थी दर्शन गर्न जाँदा कलम, मसीदानी र कापी लिएर जाने गर्दछन् । यस मन्दिरमा यो नैं अर्पण गर्न चलन छ । कार्तिक शुल्क द्वितीया अर्थात भातृ द्वितीया (यम द्वितीया) यम् पंचकको अन्तिम दिन यस मन्दिरमा दर्शनार्थीहरुको धुइँचो हुन्छ । चैत्र कृष्ण पक्षको द्वितीयामा पनि यहाँ विशेष मेला लाग्ने गर्छ । भनिन्छ चैत्र कृष्ण द्वितीया भगवान चित्रगुप्तको जन्म तिथि हो । यस मन्दिरलाई भारत सरकारले हेरिटेज साइट मा राखेको छ । यस मन्दिरको दुईवटा महत्व छ पहिलो यस मन्दिरमा चित्रगुप्त महराज आफ्ना स्वामी धर्मराजका साथ सपत्नी विराजमान छन् । धर्मराज (यमराज) को दुई रुप मध्ये राम्रो रुप जस्को दर्शनले स्वर्ग प्राप्ती हुन्छ, अर्थात पाप र पुण्यको हिसाव किताब र त्यस अनुसारको दण्ड, सजाय वा पुरस्कार तुरुन्त पाइने अवस्थाको मन्दिर जहाँबाट स्वर्ग जान पक्का पक्की देखिन्छ । दोश्रो यो मन्दिर यमुनाको किनारमा छ, जहाँ धर्मराज आफ्ना वहिनी यमुनालाई भेट्न आएका थिए र यमुनाले आफ्ना दाजु धर्मराजलाई स्वागत सत्कार माया तथा पस्जा गरेर लामो आयुको कामना गर्दै प्रार्थना गरेकी थिइन् । भन्निछ ब्रम्हाले मानसपुत्र चित्रगुप्तको निर्माण भगवान सूर्य मार्फत गराएका थिए । त्यस अर्थमा यमुना र चित्रगुप्त दिदी र भाई नाता पनि पर्छन । शायद यसै कारणले कायस्थमा भातृ द्वितिया भाई टिका भव्यताका साथ मनाइन्छ । भारतको मध्ये प्रदेशको उज्जैन जिल्लाको तराना तहशील अन्तर्गत उज्जैन मक्सी मार्गको सेरोफेरोमा कायस्थ गाउँ छ । यस गाउँको उत्खनन गर्दा ४५०० वर्ष पुरानो सामानहरु पाइएको छ । चित्रगुप्त कायथा (कायस्थ) का कायस्त (कायस्थ) को पनि कुनै सम्वन्ध छ कि र यो एउटा खोजको विषय हो । हामीले पनि हाम्रा मन्दिरलाई चित्रगुप्तधामको रुपमा विकास गर्नु पर्दछ । भगवान् चित्रगुप्तलाई कायस्थको मात्रै पूज्यनीय होइन समस्त मनुष्य जातिको लागि पूज्यनीय हुनुहुन्थ्यो र हुनुहुन्छ भन्ने सन्देश फैलाउन पर्ने आवश्यकता देखिन्छ ।