हामी आफ्नो चारैतिर अनेक प्रकारका वस्तुहरू देख्दछौं । ती सबै वस्तुहरू कुनै न कुनै रंगका हुन्छन् । यसप्रकार हाम्रो जीवनमा आउने प्रत्येक वस्तु रंगीन हुन्छन् । रंगहरूको व्यवहार विषयक क्षेत्रमा अध्ययन गर्दा यसको सांस्कृतिक पक्ष पनि एउटा हुनसक्दछ । अतः यस लेखमा मिथिलाञ्चलको संस्कृतिमा रंगहरूको व्यवहार बारे केही चर्चा गरिएको छ ।
रंगहरूको अभिज्ञान सूर्यका किरणबाट भएको भनिन्छ । सूर्यका किरणमा प्रधान सातओटा रंगहरू विद्यमान रहने गर्दछन् । हामीले आफ्ना चारैतिर जुन हरियो वनस्पति हेर्दछौं, ती हरितकणको श्रेय पनि सूर्यलाई नै दिइन्छ । यस दृश्य–प्रपञ्चमा विद्यमान रंगहरूमा मुख्य रूपमा रातो, हरियो, कालो, नीलो, सेतो, पहेंलो, खैरो इत्यादि पाइन्छन् । विश्वका प्रायः सबै दर्शन र चिन्तनमा सूर्यलाई ठूलो महत्वका साथ उल्लेख गरिएको देखिन्छ । हाम्रो जीवनमा सूर्यको धेरै महत्व रहेजस्तै विभिन्न रंगहरूको पनि उल्लेखनीय महत्व रहेको हुन्छ । यसको विवेचन अनेक आयामहरूबाट गर्न सकिन्छ ।
पूर्वीय अथवा प्राच्य दर्शनमा भनिएको पाइन्छ कि मानवको शरीर पञ्चतत्वहरूबाट निर्मित भएको हो । यी पञ्चतत्व भनेका अग्नि, आकाश, जल, पृथ्वी र वायु हुन्। यी पाँचैओटाका पाँच भिन्न–भिन्न रंगहरू रहेका भनिन्छन् , जसमा अग्नि–तत्वको रातो, आकाश–तत्वको नीलो, जल–तत्वको सेतो, पृथ्वी–
तत्वको पहेंलो र वायु–तत्वको हरियो रंग मानिएका छन् । यसकारण यी रंगहरूले हाम्रो शरीरमाथि प्रभाव पार्नुका साथै हामी द्वारा आफ्नो शरीर अन्तर्गत रहेको मानस वा अन्तःकरण द्वारा गरिने चिन्तनलाई समेत प्रभावित गरिरहेका हुन्छन् । यस मान्यता अनुसार अग्नि–तत्वको रातो रंग द्वारा उष्णता, ताप, क्रोध, ईष्र्या, द्वेष, अनिष्टता, शूरता, सामथ्र्य, उत्तेजना, कामुकता, कठोरता, तेज, प्रभावशीलता, चमक, स्फूर्ति आदि भावहरू हाम्रा मनमा उत्पन्न हुन्छन् । यस्तै आकाश–तत्वको नीलो रंगले हामीमा विचार शीलता, बुद्धिसूक्ष्मता, विस्तारता, सात्विकता, व्यापकता, प्रेरणात्मकता, सम्वद्र्धन, संशोधन, सिञ्चन, आकर्षण आदि भावहरू ल्याउने गर्दछ भने जल–तत्वको सेतो रंगबाट शान्ति, रसिकता, कोमलता, द्रवितभाव, विह्वलता, तृप्ति, शीलता, सुन्दरता, रागात्मकता, सौन्दर्यप्रियता इत्यादि भावहरू आउने गर्दछन् । यसरी नै पृथ्वी–तत्वको पहेंलो रंगले हामीमा क्षमा, गम्भीरता, स्थिरता, उत्पादकत्व, वैभव, सबलता, जीवन्तता, गुरुता आदि भावहरू विकसित गर्ने गर्दछ भने अन्तिम वायुतत्वको हरियो रंगले चञ्चलता, कल्पनाशीलता, स्वप्नशीलता, आकुञ्चन, दर्द, अपहरण, धूत्र्तता, गतिशीलता, प्रगतिशीलता,
विनोदप्रियता, प्राण, पोषण र परिवर्तनशीलता तर्फ हामीलाई उत्प्रेरित गरिरहेको हुन्छ ।
मिथिलाञ्चल क्षेत्र प्राचीनकालदेखि नै ज्योतिष र नक्षत्र–विज्ञान जस्ता विषयका चिन्तक र दार्शनिकहरूको स्थल रहिआएको छ । ज्योतिषशास्त्र अनुसार नव–ग्रहहरूमा मानिएका सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु जस्ता ग्रहहरूका पनि खास रंगहरू हुने गर्दछन् । यस्ता ग्रहहरूको कुदृष्टिबाट हुनसक्ने अनिष्टलाई शान्ति गर्नकालागि सम्बन्धित रंगका वस्तु र वस्त्रादि दान गर्ने एवम् धारण गर्ने मान्यता रहेको पाइन्छ । यसरी सूर्य ग्रहकोलागि रातो रंग, चन्द्रकोलागि सेतो, मंगलकोलागि र|तो, बुधकोलागि हरियो, बृहस्पतिको पहेंलो, शुक्रको सेतो, शनिको कालो, राहुको नीलो र केतुग्रहकोलागि
कालो रंगको व्यवहार गर्नुपर्ने भनिन्छ । त्यस्तै, खास देवताकालागि खास रंगको फूलपात आदि चढाइने परम्परा मिथिला क्षेत्रमा रहेको देखिन्छ, जसमा शक्तिस्वरूपा भगवती दुर्गाकालागि रातो रंगको फूल, विष्णुकालागि पहेंलो रंगको फूल, शिवजीलाई हरियो बेलपत्र, विषहरा (नागदेवता)लाई सेतो रंगको फूल,
गणेशजीलाई हरियो रंगको दूबो इत्यादि विशेष रूपमा उल्लेखनीय रहेका छन् ।
यसै पृष्ठभूमिमा, मिथिलाञ्चलको सांस्कृतिक क्षेत्रमा अनेक अवसरहरूमा विभिन्न रंगहरूको व्यवहार गरिएको देखिन्छ । यस विषय बारे संक्षेपमा तल चर्चा गरिन्छ ।
रातोः— रातो रंगलाई प्रेम, सौभाग्य आदिको प्रतीकको रूपमा मानिएकोले शुभ–सूचक भनिन्छ । यस रंगको प्रयोग विभिन्न सांस्कारिक कार्य, धार्मिक अनुष्ठान र उत्सव आदिका अवसरमा गरिन्छ । शिशुको जन्म उपरान्त जातकर्म–संस्कारको अवसरमा सुत्केरी र शिशुको नङ काटिसकेपछि त्यसमा रातो रंग लगाइन्छ । बालकको मुण्डन र चूडाकरण(उपनयन)–संस्कारको अवसरमा दूर्वाक्षत (दूबोका मुण्टा र चामल) सहित आशीर्वाद दिंदाको बखत रातो रंगमा रंगाइएको धानको प्रयोग गरिन्छ । यस प्रकारको दूर्वाक्षत–आशीर्वाद दिने कार्य शुभ–विवाहको अवसरमा गरिने विभिन्न विधिहरूको समयमा समेत गरिएको हुन्छ । यस्तै मिथिलाञ्चल क्षेत्रमा शुभ–वैवाहिक विधिहरू सम्पन्न गर्दा रातो रंगको पाग (टोपी विशेष), धोती तथा साडी प्रयोग गरिन्छन् । यस्तै वैवाहिक विधि अन्तर्गतका सम्बन्धित प्रायः सबै कार्यहरूमा रातो रंगको व्यवहार गरिन्छ, जसमा तत्सम्बन्धी लेखिने कागजहरू, विधिहरूमा प्रयोग गरिने वस्तुहरू — जस्तै धान, सुपारी, धागो, लहठी (लाहबाट बनाइएको चुरा विशेष), डाराडोरि (कन्देनी), माटो तथा बाँस द्वारा बनाइएका विभिन्न वस्तुहरू इत्यादि सबैमा रातो रंगको व्यवहार हुन्छ। मिथिला क्षेत्रमा बनाइने अरिपन चित्रमाथि रातो सिन्दूरको प्रयोग अत्यावश्यक हुन्छ ।
मिथिलाञ्चलमा सधवा महिलावर्गले आफ्नो सिउँदोमा रातो सिन्दूर तथा निधारमा रातो ठोप (टीका) लगाउने गर्दछन् । यस्तै, पुरुषवर्ग द्वारा पनि ललाट (निधार)मा रातो तिलक (टीका) लगाइने गरिन्छ । तिलकलाई मैथिली भाषामा चानन(चन्दन) पनि भनिन्छ । तिलक लगाइने निधारको केन्द्रीय भागको ठाउँलाई योगशास्त्र अनुसार आज्ञाचक्रको स्थान मानिन्छ । यस स्थानमा तिलक लगाउनाले आयु, आरोग्य र सौभाग्यको वृद्धि हुने मान्यता रहेको छ । यसैगरी, महिलावर्ग द्वारा हात र खुट्टाका नङमा तथा कुर्कुचा र त्यसका चारैतिरका भागमा कलात्मक रूपले रातो रंग लगाइने गरिन्छ ।
यस क्षेत्रमा देवी भगवती एवम् महावीर हनुमानको पूजा उपासना विषयक अनुष्ठान गर्दा रातो वस्त्र धारण गर्ने परिपाटी देखिन्छ । हनुमानको ध्वजामा रातो रंगको कपडाको प्रयोग गरिन्छ । यसैगरी नवग्रहमध्येका सूर्य र मंगल ग्रहहरूको प्रकोपबाट बाँच्नकालागि ग्रह–शान्ति सम्बन्धी अनुष्ठान गर्दा समेत रातो वस्त्र तथा वस्तुको प्रयोग गरिन्छ । मिथिला क्षेत्रमा प्रत्येक घरमा ढोकाका दुवैपट्टिका दैलाको भित्तिमा, जसलाई मैथिली भाषामा धुरखुर भनिन्छ, रातो सिन्दूरको टीका लगाइएको हुन्छ । यस्तो सिन्दूर को टीका पिठारका साथ तथा तेलका साथ गरिन्छ । यसरी मिथिलाको संस्कृतिमा रातो रंगको ठूलो महत्व रहेको छ ।
पहेंलोः— मिथिला क्षेत्रमा पहेंलो रंगको पनि महत्वपूर्ण स्थान रहेको देखिन्छ । यस क्षेत्रमा भगवान विष्णुलाई प्रमुख उपास्यदेवको रूपमा मानिन्छ । कुनैपनि पूजापाठ तथा यज्ञ, अनुष्ठान आदिको अवसरमा सर्वप्रथम पञ्चदेवताका साथै विष्णुको पूजा गर्ने प्रचलन मिथिला क्षेत्रमा पाइन्छ । भगवान विष्णु पीताम्बरधारी हुन् अर्थात् उनी पहेंलो रंगको धोती धारण गरेका हुन्छन् । यसकारण, पहेंलो रंगलाई अति पवित्र रंगको रूपमा ठानिन्छ ।
मिथिलामा नवजात शिशुको जन्मपछि जातकर्म–संस्कार अन्तर्गत गरिने प्रधान विधिलाई छठियार भनिन्छ । यो विधि शिशुको जन्मको छैठौं दिनमा हुन्छ । यस अवसरमा नवजात शिशुका साथै सुत्केरीलाई पहेंलो रंगको वस्त्र प्रदान गरिन्छ । यस बखत शिशुको हात, खुट्टा, गला तथा कम्मरमा पहेंलो रंगको धागो
बाँधिदिने तथा सुत्केरीलाई हातका नाडीमा पहेंलो रंगको लहठी लगाइदिने गरिन्छ । यसैगरी, मुण्डन, उपनयन तथा विवाह जस्ता संस्कारहरूको अवसरमा शुभ मुहूत्र्तको विचार गरी केहिदिन पहिलेदेखि नै वटुक तथा वर र कन्याको पसाहनि भन्ने विधि गरिन्छ । यस विधिको समयमा प्रयोग गरिने वस्त्र, तौलिया, काइँयो, धागो, कन्देनी, रिबन इत्यादि सबै नै पहेंलो रंगको हुनुपर्ने हुन्छ । यस्तै, विवाह पश्चात् वधूको विदाईको अवसरमा, जसलाई मैथिली भाषामा द्विरागमन भनिन्छ, वधूकालागि वस्त्र, लहठी तथा वरकालागि धोती, कुर्ता, दुपट्टा आदि सबै पहेंलो रंगका हुन्छन् । अर्कोतिर, कतिपय विशेष पूजापाठ तथा अनुष्ठानको अवसर इत्यादिमा तथा कुटुम्बवर्गको विदाईको समयमा समेत पहेंलो रंगको वस्त्रादिको व्यवहार गरिएको हुन्छ । अर्कोतिर, श्राद्धकर्मको समाप्ति पश्चात् चुमाओन विधिको अवसरमा कत्र्ताको वस्त्र र कन्देनी पहेंलो रंगमा रंगाएको हुन्छ । यसरी विचार गर्दा के देखिन्छ भने व्यक्तिको जन्मको अवसरदेखि देहान्तपछिको श्राद्धकर्मको अवसरसम्म सांस्कारिक कर्मको बेलामा पहेंलो रंगको वस्त्रको प्रयोग भएको हुन्छ ।
मिथिलामा भतराशि नामक पर्व मनाइन्छ । यो माघ–संक्रान्तिको दिन पर्दछ । यस पर्वमा एक वर्षसम्म साँझपखको समयमा साँझ–पूजा एवम् एक महिनासम्म ब्राह्म–मुहूत्र्तमा तुषारी–पूजा भनेर विशेष प्रकारले पूजा गरिन्छन् । नवविवाहिता वधूले गर्ने यो पूजाको अवसरमा सेतो, पहेंलो र हरियो गरी तीन रंगको परबास (अरवा चामलको पिठो) आवश्यक हुन्छ । यस पिठोमा बेसार मिसाएर पहेंलो रंगको परबास बनाइन्छ । यस्तै पहेंलो रंगको तिलक धारण गर्ने चलन पनि रहेको छ । नवग्रह अन्तर्गतको बृहस्पति ग्रहलाई प्रसन्न गर्नकालागि ग्रह–शान्ति सम्बन्धी अनुष्ठान गर्दाको बखतमा पहेंलो वस्त्र तथा वस्तुको प्रयोग गर्नुपर्ने हुन्छ । यसरी मिथिलाको संस्कृतिमा पहेंलो रंगको उल्लेखनीय महत्व रहेको पाइन्छ ।
हरियोः— मिथिलाञ्चल क्षेत्रमा हरियो रंगलाई सुख, समृद्धि, वंशवृद्धि, श्रीवृद्धि तथा पूर्णताको प्रतीकको रूपमा मानिएको देखिन्छ । यस रंगको प्रयोग रातो, पहेंलो, नीलो आदि रंगहरूका साथमा विभिन्न अवसरमा गरिएको हुन्छ । हरियो रंगको प्रयोग गरिने खास बेला भनेको शुभ–विवाहको अवसरमा सिन्दूर राख्नकालागि विभिन्न प्रकारका चित्रांकन गरी जुन कागजहरू लेखिन्छन्, तीमध्ये एउटा कागजमा बाँसको चित्र लेखिन्छ, त्यो बाँसको चित्र भने हरियो रंगले नै लेखिन्छ । यो हरियो रंगले बाँस बोटको चित्रांकित कागजमा राखिएको सिन्दूरलाई साँकर भन्ने विधिको समयमा प्रस्तुत गरिन्छ । यो साँकर विधि भनेको विवाहकालागि वर जन्तीसहित कन्याको घरमा पुगेपछि गरिने विधिहरू मध्येको सर्वप्रथम गरिने विधि हुन्छ । यसरी नै, शुभविवाह भन्दा एकदिन पहिले गरिने कुमरम विधिको अवसरमा धानको लाबा भुट्नकालागि निर्धारित दैलोनिरको स्थान निकट भित्तामा पनि हरियो रंगले बाँसको चित्र लेखिएको
हुन्छ । यस्तै, कोबरघर भित्र राखिने कोबरचित्रमा हरियो रंगले नै बाँसको चित्र लेखिएको हुन्छ । अर्कोतिर, माघ–संक्रान्तिको दिन गरिने भतराशि पर्वको अवसरमा साँझ पूजा र तुषारी पूजाकालागि आवश्यक रहेको परबासलाई हरियो रंगको बनाउन चामलको पिठोमा बेलपत्रको प्रयोग गरिएको हुन्छ । यसरी हरियो रंगको प्रयोग विशेष अवसरमा खास रूपमा समेत गरिएको देखिन्छ ।
कालोः— कालो रंगलाई मिथिलाको संस्कृतिमा दुई प्रकारले व्यवहार गरिएको पाइन्छ । एकातिर, कालो रंगलाई कसैको कुदृष्टिबाट रक्षा गर्ने रंगको रूपमा मानिएको देखिन्छ । कालो रंगको वस्तुमाथि दृष्टि परेमा त्यस दृष्टिको कुप्रभाव नपर्ने विश्वास गरिन्छ । यसरी यस रंगलाई कुदृष्टि–दोष नाशकको
रूपमा हेरिएको बुझिन्छ ।
नवजात शिशुमाथि कसैको कुदृष्टि नलागोस् भनेर उसको हात, खुट्टा, कम्मर र गलामा कालो रंगको धागो लगाइने गरिन्छ । यस्तै शिशुको आँखामा कालो गाजल लगाइन्छ । कालो गाजलको टीका शिशुको निधार, हत्केला र पाइतालामा समेत लगाइदिने गरिन्छ । यसरी टीका लगाउँदा शिशु चाहिं बालक रहेको छ भने निधारमा दायाँपट्टि तथा दायाँ हत्केला र दायाँ पाइतालामा लगाइन्छ भने बालिका शिशु भएमा यस्ता टीकाहरू उसको देबे्र भागमा लगाइने गरिन्छ । यस्तो कालो टीकालाई मैथिली भाषामा कारी–ठोप भनिन्छ ।
त्यस्तै, कसैको खेतबारीमा तरकारी आदि बाली लगाइएकोमाथि कसैको कुदृष्टि नलागोस् तथा तरकारीहरू राम्ररी सप्रोस् र फलोस् भनेर माटोको एउटा भाँडोमाथि कालो र सेतो रंगका अनेक बिन्दु अंकित गरी त्यसलाई घोप्टो पारेर एउटा स्तम्भमाथि राखिदिने गरिन्छ । यसमा सेतो बिन्दुकालागि चूनको प्रयोग गरिएको हुन्छ । यसलाई प्रतीकात्मक तथा व्यंग्यात्मक भाषामा भन्नुपर्दा कारीचून लगाएब भन्ने गरिन्छ ।
यसैगरी, अर्कोतिर, कालो रंगको वस्त्रादिको प्रयोग विशेषगरी कालीपूजाको अवसरमा गरिन्छ । कालो रंगको गाई दान गर्नाले ठूलो पुण्य हुने विश्वास रहेको पाइन्छ । कालो रंगको गाईको दूधको उपयोग कतिपय तान्त्रिक अनुष्ठानमा गरिने हुन्छ । कालो रंगको वस्त्र, धागो जस्ता वस्तुको प्रयोग गरी
इष्टकारी र अनिष्टकारी समेत अनेक तन्त्र–मन्त्र विषयक कार्य गरिने हुन्छन् । यस्तै, नवग्रहमध्येका शनि र केतु ग्रहहरूलाई प्रसन्न गर्नकालागि ग्रह–शान्ति सम्बन्धी गरिने अनुष्ठान कार्यमा कालो वस्त्र तथा कालो वस्तुहरूको प्रयोग गरिन्छ । कालो रंगको जुत्ता भने अति लोकप्रिय रहेको छ । अर्कोतिर, मिथिला
क्षेत्रमा कतिपय परिवारमा कालो रंगको प्रचलन नरहेको परम्परा पाइन्छ । यस्ता परिवारमा कुनै खास कुलदेवताको पूजा हुने हुनाले एवम् ती देवतालाई कालो रंग मन नपर्ने भनिएकाले त्यस्ता परिवारमा कालो रंगका वस्तुलाई व्यवहारमा नल्याइने गरिएको देखिन्छ ।
यसैगरी, मिथिलाञ्चलमा कालो रंगलाई नै अशुभ–सूचक भनेर स्वीकार गरिएको पाइन्छ । यस सन्दर्भमा कुनैपनि अशुभ घटना, यथा मृत्यु, पितृकर्म आदि विषयक सूचना दिनु परेमा कालो रंगको मसीको प्रयोग गरी पत्र लेखिने गरिन्छ । यस्तै, कालो रंगको वस्त्रादि लगाएर कुनैपनि शुभकार्य हुने स्थानमा उपस्थित हुन नहुने भनिन्छ । यसप्रकार, कालो रंगको व्यवहार एकातिर अशुभ–सूचकको रूपमा तथा अर्कोतिर कुदृष्टिदोष नाशकको रूपमा गरी दुई प्रकारले गरिएको पाइन्छ ।
यहाँनिर एउटा कुरो स्पष्ट गर्नुपर्ने के बुझिन्छ भने मिथिला क्षेत्रमा अशौच (अशुचि) दुई प्रकार का मानिएका छन् — एउटालाई जन्माशौच भनिन्छ भने अर्कोलाई मरणाशौच भनिन्छ । अशौच अर्थात् अशुद्धिको अवधिभरि शुभकार्य, देवकर्म, यज्ञ, अनुष्ठान, पूजापाठ आदि गर्न नहुने भनिन्छ । यसप्रकार अशौचलाई अशुभ ठानिन्छ । परन्तु व्यवहारिक रूपमा यो अशुभ विषयक मान्यता मरणाशौच अर्थात् कसैको मृत्यु भएको अवसरलाई नै दिइने गरिन्छ । अर्कोतिर, कसैको घरमा शिशुको जन्म भएमा त्यो जन्माशौच हुन्छ, एवम् त्यसको पनि अशौच लाग्दछ तथा अशौचको अवधिभरि शुभकार्य गर्न नहुने भनिन्छ । परन्तु जन्मको समाचार सुखद भएकोले यसलाई खुशीको अवसर ठानिन्छ, किनभने यस बेला कसैको सन्तानको प्राप्ति भएको हुन्छ । अतः यद्यपि यो अशौचको विषय हुन्छ, तथापि यो सुखद भएकोले यस विषयक सूचना लेखी पठाउँदा रातो रंगको मसीको प्रयोग गरिएको हुन्छ । यसको विपरीत, मरणाशौच विषयक सूचना दुःखद अशौचको भएकोले कालो रंगको मसीको प्रयोग गरी लेखिने गरिन्छ ।
सेतोः— भनिन्छ कि यो सृष्टिमा शाश्वत रंगहरू भनेका दुईओटा मात्र छन् — सेतो र कालो । यी दुवैलाई क्रमशः दिन र रात तथा शुक्लपक्ष र कृष्णपक्षसित तुलना गर्न सकिन्छ । अर्को शब्दमा यस दृश्य–प्रपञ्चका श्वेत र श्याम गरी दुई मुख्य आयामहरू रहेका भनिएको पाइन्छ । यसप्रकार दर्शन र चिन्तनको क्षेत्रको रूपमा प्राचीनकाल देखि नै प्रसिद्ध रहिआएको मिथिलाञ्चलमा सेतो रंगको व्यवहारपनि, कालो रंगको जस्तै, दुई प्रकारबाट भएको देखिन्छ । एकातिर, सेतो रंगको पिठारको प्रयोग शुभ– सूचक मानेर पूजा–प्रतिष्ठा, यज्ञ–अनुष्ठान, शुभ सांस्कारिक कार्य, विवाह आदिका अवसरहरूमा गरिएको हुन्छ । यो पिठार भनेको अरवा चामलको पिठो हुन्छ, जसलाई पानीमा घोलेर बनाइएको घोलबाट भुइँमा विभिन्न प्रकारका चित्र अंकित गरिन्छन्, जसलाई अरिपन भनिन्छ । अरिपनलाई मैथिली बोलीमा ऐपन पनि भनिछ । वस्तुतः यो एक प्रकारको तान्त्रिक यन्त्रको रूप मानिन्छ । यसरी सेतो पिठारबाट बनाइएको प्रत्येक अरिपनमाथि रातो सिन्दूरको टीका लगाउनु अनिवार्य हुन्छ । यस्तै, खेतबारीमा लगाइएको लहरा, तरकारी आदि तर्फ कसैको कुदृष्टि नलागोस् भनी कालो र सेतो बिन्दु बनाएर जुन माटोको भाँडोलाई घोप्ट्याएर ठड्याइएको हुन्छ, त्यसमा सेतो बिन्दु बनाउनकालागि चूनको प्रयोग गरिन्छ । यसरी कालो र सेतो दुवै शाश्वत रंगका बिन्दुहरू एकत्रित दर्शन भएमा यसले कुदृष्टिदोषको नाश गर्ने विश्वास रहेको देखिन्छ ।
अर्कोतिर, सेतो रंगलाई उदासी, शोक आदिको प्रतीक जस्तो अशुभ–सूचक पनि मानिन्छ । कसैको मृत्यु भएमा उसको अन्त्येष्टि अर्थात् दाह–संस्कार गर्ने बेलादेखि श्राद्धकर्मको समाप्ति पर्यन्त कत्र्ता द्वारा सेतो रंगको वस्त्र नै धारण गर्नुपर्ने हुन्छ । यस्तै एकवर्ण सेतो, जसलाई मैथिली भाषामा अखरा भनिन्छ,
त्यस्तो वस्त्र लगाएर कुनैपनि शुभकार्यको स्थानमा जान नहुने भनिन्छ ।
उपर्युक्त रातो, पहेंलो, हरियो, कालो, सेतो आदि रंगहरूका साथ नीलो, बैगनी, खैरो, सुन्तलाकोजस्तो इत्यादि अनेक प्रकारका रंगहरूको व्यवहार विभिन्न वस्तुमा तथा अनेक अवसरमा हुने गरेको देखिन्छ । मिथिला क्षेत्रमा निर्माण गरिने माटो, काठ, कागज, कपडा इत्यादिका कलात्मक वस्तुहरूलाई
विविध प्रकारका रंगहरूबाट रंगाइने गरिएका हुन्छन् । यस्ता रंगीन कालात्मक वस्तुहरूमा कर र सीकी (झार विशेष) तथा बाँस द्वारा बनाइने ढक्की सदृश वस्तुहरू एवम् घरका भित्तिमा अंकित गरिने चित्रहरू समेत उल्लेखनीय रहेका छन् ।
मिथिला क्षेत्रको सांस्कृतिक परिदृश्यमा श्रावण महिनामा मनाइने मधुश्रावणी पर्वको विशेष महत्व रहेको छ । यो पर्व श्रावण कृष्ण पञ्चमीदेखि श्रावण शुक्ल तृतीयासम्म साधारणतया जम्मा चौध दिनसम्म मनाइन्छ । यस समयमा तिथिको क्षय र वृद्धि हुँदा भने यस पर्वको अवधि हेरफेर हुनसक्ने हुन्छ । यस अवसरमा पूजा गर्दा प्रत्येक दिन विशेष मन्त्रको उच्चारण गरिन्छ, जसलाई फकरा र दोहा भनिन्छ । यसमा दोहा अन्तर्गत रातो, सेतो, हरियो, पहेंलो, कालो रंगहरूको नाम उच्चारणका साथ विशेष रूपमा दोहाहरू भन्ने गरिन्छन् । यसरी नै यस क्षेत्रका भक्त, उपासकहरू तथा सर्वसाधारण व्यक्ति समेत निधारमा तिलक लगाउँदा सेतो भस्म द्वारा त्रिपुण्ड अंकित गर्दछन् भने उध्र्वपुण्ड अंकित गर्दा सेतो श्रीचन्दन तथा पहेंलो गोपीचन्दन प्रयोग गर्दछन् । यस्तै रातो चन्दन द्वारा बिन्दु अंकित गर्दछन् । निम्बार्क सम्प्रदायका वैष्णव अनुयायीले उध्र्वपुण्डको तल कालो बिन्दु अंकित गरेका हुन्छन् । मिथिलामा पहिले प्रचलित धौत–परीक्षा, जसमा विद्वान पण्डितलाई उनको विद्वत्ताको कदर गर्दै धोती प्रदान गर्ने गरि न्थ्यो, अन्तर्गत नैयायिकलाई रातो रंगमा एवम् वैदिक तथा वैयाकरणिकलाई पहेंलो रंगमा रंगाएको धोती प्रदान गरिन्थ्यो । यसरी न्याय–दर्शनशास्त्रको ज्ञानलाई रातो रंग एवम् वेदशास्त्र र व्याकरणशास्त्रको विद्यालाई पहेंलो रंग सित सम्बन्धित गराउनु मिथिलाञ्चलको एउटा विशेष चिन्तन भन्न सकिन्छ । यसप्रकार, विद्या अथवा ज्ञानलाई खास प्रकारको रंगको आधारमा पनि अभिव्यक्त गरिनु आफैमा एउटा
गहन अनुसन्धानको विषय हुनसक्दछ ।
मिथिला क्षेत्रमा रंगहरूलाई बनाउने आफ्नै विशिष्ट परम्परा रहेको थियो । अहिले रसायनिक रंगहरूको सहज उपलब्धिताले गर्दा यस परम्परामा ह्रास आइसकेको छ । मिथिलाका कलाकार तथा रंगकर्मीहरू पहिलेको समयमा विविध प्रकारका वनस्पतीय वस्तुहरूको उपयोग गरी रंगहरू बनाउने गर्दथे । यसरी रंग बनाउनमा कच्चा पदार्थको रूपमा उपयोग गरिने वनस्पतिहरूमा सीमी, तिलकोर जस्ता लहरा विशेषका पात, बाँसका पात, बेलपत्र, मेहदीका पात, बेसार, पीपल वृक्षको बोक्रा, सिक्कट (झार विशेष)का फल, डिबिया (टुकी)को फुलिया(लेसोको जलेको अग्रभाग), खापरि(माटोको भाँडा विशेष, जुन भोजनादि बनाउन उपयोग हुन्थे)को पींधमा जमेको कालो स्याही, केराको बोटको रस(पानी), कागतीको रस एवम् पारिजात, कुसुम, सयपत्री, गुलाब, कनेर, गोदाबरी इत्यादि विभिन्न प्रकारका पूmलहरू रहेका थिए । यस्ता पदार्थहरूबाट रंग बनाउनकालागि खास विधि र प्रविधिहरू अपनाइने गरिन्थे, जसमा यी कच्चा पदार्थहरूलाई निचोर्ने, थिग्य्राउने, जमाउने, उमाल्ने, तताउने, कुनै खास समयसम्म चिसोमा अथवा माटोमुनि पुरेर राख्ने जस्ता विशेष प्रकारका प्राविधिक तरीकाहरू रहेका थिए ।
रंगहरूको प्रभाव मनुष्यको चिन्तन र विचारमाथि पर्ने गरेको कुरा विद्वानहरू बताउने गर्दछन् । भनिन्छ कि कुनैपनि गाढा रंगको प्रभाव द्वारा कठोरता, दृढता, उद्विग्नता, उत्तेजना जस्ता भाव उत्पन्न हुन्छ भने हलुका रंगले शालीनता, शीतलता, गम्भीरता, शान्ति जस्ता मनोभाव जगाउने गर्दछ । मनुष्यको
जीवनमा उमेरगत अर्थात् अवस्थागत स्वरूपमा पनि विभिन्न रंगहरूको विविधतापूर्ण प्रभाव पर्ने भनिन्छ । बाल्यावस्था तथा युवावस्थामा उत्तेजना प्रदान गर्ने रंगीचंगी वस्तु प्रति विशेष आकर्षण रहने गर्दछ भने प्रौढावस्था तथा वृद्धावस्थामा सादा र शान्ति प्रदान गर्ने रंगहरू तर्फ ध्यान जाने गर्दछ । यस सन्दर्भमा
एउटा उल्लेखनीय कुरो के छ भने मैथिली भाषामा एउटा शब्द छ चितकाबर । यस शब्दको अर्थ अनेक रंगहरूको एकत्रित व्यवहार भएको भनेर गरिएको हुन्छ । यसरी विविध रंगहरूको एकै स्थानमा प्रयोगबाट मनुष्यको चित अर्थात् मनोभावमा उद्वेलन उत्पन्न गराउने अर्थात् एकाग्रतामा बाधा ल्याउने भएकाले
पनि चितकाबर शब्दको निर्माण भएको हुनसक्ने भनिन्छ । अर्कोतिर, अनेक रंगहरूको एकत्रित प्रयोगको भिन्न–भिन्न आयाम पनि हुने गर्दछन् । यस सन्दर्भमा, कुनैपनि उमंग, उत्साह र उल्लासमय सुखद वातावरणमा अनेक रंगका वस्तुहरूलाई रंगीचंगी पारेर सजाइएको विषयलाई लिन सकिन्छ । यस्ता
अवसरमा विविध रंगका वस्तुहरूलाई एउटा तारतम्य मिलाएर निश्चित र निर्धारित शैलीमा सजाएर र ाखिएको अवस्थामा त्यसले सुखद र आनन्दमय मनोभावलाई उत्पन्न गराउने हुन्छ । यसरी यो हर्षको विषय हुन आउँछ । यसको उदाहरणमा राजा–महाराजाका रंगमहल, रंगीचंगी फूलहरूले भरिएका उद्यान, होलीपर्व जस्ता रंगारंग कार्यक्रमहरू आदिलाई लिन सकिन्छ । अर्कोतिर, यिनै विविध रंगका वस्तुहरूलाई तारतम्य नमिलाएर अनिश्चित रूपले थुपारिएको वा राखिएको हुन्छ भने त्यसबाट अशान्ति र मानसिक चिन्तनगत द्वन्द्व उत्पन्न हुने हुन्छ । यसकारण भनिन्छ कि कुनै खास किसिमको अनुष्ठान गर्नुपर्दा त्यसै अनुरूपको रंग विशेषका वस्तुहरूको प्रयोग गर्नु पर्दछ । यसबाट एकाग्रता आउने हुनाले अभिष्ट सिद्धि एवम् उद्देश्यमा सफलता प्राप्त गर्नमा सहयोग पुग्ने हुन्छ । यस्तै, कुनै एउटै रंगको वस्त्र वा वस्तुको उपयोग गर्दा वा यसरी उपयोग गर्ने व्यक्तिमाथि दृष्टि पर्दा मानसमा एउटा खास किसिमको भाव आउने अनुभव सहजै गर्न सकिन्छ ।
यसप्रकार विचार गर्दा के देखिन्छ भने विश्वका सबै संस्कृतिमा रंगहरूको विशिष्ट महत्व रहेको हुन्छ । मिथिलाञ्चल क्षेत्रको संस्कृति परम्परागत रूपमा अत्यन्त सम्पन्न र समृद्ध रहेको छ, जसको विषयमा देश र विदेशका अन्वेषकहरू यसका विविध आयामको विश्लेषण गर्नुका साथै विस्तृत अध्ययन र अनुसन्धान गरिरहेका छन् ।