मिथिलाञ्चलको सांस्कृतिक पर्यटन प्रबद्र्धनमा “झिझिया नाच”

बासुदेवलाल दास, पीएच.डी.
सह प्राध्यापक, इतिहास विभाग

प्राचीन ऐतिहासिक र पौराणिक स्रोतहरू अनुसार मिथिलाञ्चल–क्षेत्र भनेको उत्तरमा हिमालय र दक्षिणमा गंगा नदी तथा पूर्वमा कोशी नदी र पश्चिममा नारायणी नदी बीचको भूभाग हो । मध्यकालको युगमा यसको ऐतिहासिक भूगोलमा अनेक किसिमका परिवर्तनहरू देखा परे । अहिले मिथिला क्षेत्रको
भूभाग राजनैतिक रूपमा नेपाल र भारत गरी दुई राष्ट्रहरूको भूमिको रूपमा विद्यमान रहेको छ । यसरी दुईओटा राष्ट्रको क्षेत्र अन्तर्गत रहे तापनि यस भूभागको संस्कृति र सामाजिक परम्परा एकनास नै रहेका छन् ।

संस्कृति भनेको कुनैपनि समाजको चिन्तन, विचार र कार्य गर्ने शैली एवम् खानपान, वस्त्राभूषण, नाचगान, कला,साहित्य इत्यादिका उन्नत अवस्था बारे जानकारी प्रदान गर्ने विषय हो । मिथिलाञ्चलको संस्कृति अत्यन्त समृद्ध रहेको छ । यस क्षेत्रका परम्पराहरू खास विशेषताहरूले पूर्ण रहेका छन् । समाजको सांस्कृतिक जीवनमा मनोरञ्जनको ठूलो महत्व रहेको हुन्छ । मनोरञ्जनका अनेक साधनहरू र माध्यमहरू मध्ये नाच एउटा अति नै लोकप्रिय माध्यम हो । नाच देखाउने कार्यमा पुरुष र महिला गरी दुवै वर्गका व्यक्तिहरूको सहभागिता हुने गर्दछ । अहिलेको समयमा आधुनिक नाच देखाउँदा पुरुषपात्र र महिलापात्रका भूमिकामा पुरुष र महिला स्वयम् सहभागी हुन्छन्, परन्तु मिथिलाको परम्परामा यस्तो विपरीत लिङ्गीय व्यक्तिहरू संगै नाच गर्ने कुरा हुँदैन थियो । पुरुषवर्गले देखाउने नाचमा महिलापात्रको भूमिकामा पनि पुरुष व्यक्ति नै महिलाको पोशाक लगाएर उपस्थित हुने गर्दथे, जुन आजसम्म पनि ग्रामीण क्षेत्रमा देखाइने नाचमा हेर्न सकिन्छ । अर्को तिर मिथिला क्षेत्रमा देखाइने केही यस्ता नाच छन्, जसमा महिलावर्गको मात्र सहभागिता हुने गर्दछ । यस्तो नाचमा पुरुषपात्रको भूमिकामा महिला व्यक्ति नै पुरुषको पोशाक लगाएर उपस्थित हुन्छिन् । यसप्रकार अर्थात् महिलावर्गको मात्र सहभागिता रहने नाचहरूमा मुख्य रूपमा डोमकछ, जटजटिन र झिझिया नाचहरू रहेका पाइन्छन् । प्रस्तुत लेखमा झिझिया नाच बारे चर्चा गरिएको छ ।

झिझिया नाच मिथिलाञ्चलको परम्परागत नाच हो । यो एक प्रकारको तान्त्रिक–नृत्य जस्तैपनि हो । यो नाच शारदीय नवरात्रा अन्तर्गत आश्विन महिनाको शुक्लपक्ष अर्थात् दुर्गापक्षमा देखाइन्छ । यस नाचमा महिलावर्गको मात्र सहभागिता हुन्छ । यो नाच साँझपखको समयमा गरिन्छ । झिझिया नाचकालागि आवश्यक पर्ने वस्तुहरूमा सर्वप्रथम झिझिया नै चाहिने हुन्छ । झिझियालाई अर्को शब्दमा झिझरी पनि भनिन्छ । झिझरी शब्दको अर्थ धेरै प्वालहरूभएको वस्तु हुन्छ । यो झिझरी अथवा झिझिया भनेको माटोको एउटा घैंटो हुन्छ, जसमा माथिल्लो मुख भएको भाग तथा तलको पींध भएको भागलाई छाडेर बीचको भागमा साना–साना असंख्य प्वालहरू बनाइएका हुन्छन् । यसका साथै दियो, तेल, बत्ती, र बीरा चाहिन्छ । बीरा भनेको पराल अथवा कपडाबाट बनाइएको गोलाकार वृत्त हुन्छ, जसमाथि घैंटो राखिन्छ । वस्तुतः झिझिया एकप्रकारको तान्त्रिक उपकरण हुन्छ । झिझियाभित्र दियो बालेर राखिन्छ तथा यसलाई बीराका साथ टाउकोमाथि सोझो पारेर राखिन्छ । यसरी टाउकोमाथि राखिएको झिझियालाई हातले समात्ने गरिंदैन, अर्थात् यसलाई यसप्रकारले राखिन्छ कि नाच गर्दा यो अलिकति पनि नहल्लियोस् । यसकालागि नाचमा सहभागी नर्तकी महिलाले आफ्नो घाँटी सोझो पारेर टाउको माथि भार बोकि राख्न सक्ने अभ्यास गरेकी हुनुपर्दछ ।

यस नाचमा ५,७,९,११ इत्यादि बेजोड संख्यामा महिलाहरू नाच्ने गर्दछन् । यस अवसरमा सर्वप्रथम झिझिया तयार गरी त्यसभित्र दियो बालेर सबै झिझियाहरूलाई गाउँको रजैयाधामी समक्ष एकत्रित गरी राखिन्छ । रजैयाधामी भनेका गाउँका ग्रामदेवताका पुजारी हुन्छन् । उनले सबै झिझियाहरूलाई मन्त्र द्वारा आवेष्टित गरिदिन्छन्, जसलाई “झिझिया बाँधेको” भनिन्छ । यस तान्त्रिक नाचमा बोक्सीहरू द्वारा मन्त्राघात गरिने सम्भावना रहने गर्दछ, जसबाट झिझिया फुट्नुका साथै नाचिरहेकी व्यक्तिलाई समेत हानि पुग्नसक्ने हुन्छ । रजैयाधामीले मन्त्र द्वारा यसलाई बाँधिदिएपछि त्यस्तो आघातको सम्भावना रहँदैन । यसपछि नाच्न तयार सबै महिलाले आफ्ना टाउकोमाथि बीरा राखेर त्यसमाथि झिझियालाई यसरी राख्दछन्, कि त्यो टाउकोमाथि टाँसिएको जस्तै बुझिन्छ । यसरी
राखिने कार्यलाई मैथिली लोकबोलीमा “अन्ठेका मारब” भनिन्छ । अब नाच आरम्भ हुन्छ । यस समयमा झिझिया बोक्ने महिलाहरूले गाउँको बाटोमा गोलाकार वृत्त बनाएर थपडी बजाउँदै, घडीको सूई चल्ने भन्दा विपरीत दिशातर्फ घुम्दै, दर्शक समाजलाई आफ्नो दाहिने पार्दै नाच गर्दछन् । यसरी नाच गर्दा
दर्शक समाज यिनीहरूको दाहिने भागमा रहन्छन् । यी नर्तकीहरूका पछिपछि महिला हरूको टोलीले “झिझिया–गीत” गाउँदै हिंड्छन् । गीत गाउने महिलावृन्द एक–अर्काले आफ्ना दुवै हात दाहिने–देब्रेतिर रहेकी साथी महिलाका पाखुरामाथि समातेर राखेका हुन्छन्, जसले गर्दा एक प्रकारको सिक्री जस्तै
बनेको बुझिन्छ । यसरी नाच्दै गाउँदै हिंड्दै महिलावृन्द गाउँका बाटोहरू हुँदै ग्रामदेवताको स्थान समक्ष पुगेर ढोग गरी पुनः फर्केर नाच्दै आफ्ना घरमा आइपुग्दछन् । यस अवसरमा नाच गर्ने दलका व्यक्तिहरूलाई नाच्दा नाच्दै केही थकाई लाग्दा कुनै सार्वजनिक स्थानमा वा कसैको दलानको ठाउँमा
एकछिन विश्राम पनि गर्ने गरिन्छ । यस्तो विश्राम गर्दा त्यस स्थानमा नजिकमा जसको घर पर्दछ, त्यस घरका आइमाईले झिझियाका दियोहरूमा
तेल थपिदिने कार्य गर्दछन् । यसरी तेल थपिदिने कार्यलाई झिझिया प्रतिको सम्मान एवम् झिझिया नाचमा संलग्न नर्तकीहरू प्रति आशीर्वादको रूपमा लिइएको देखिन्छ । यो नाच नवरात्राको अवधिभरि अर्थात् आश्विन महिनाको शुक्लपक्षको प्रतिपदा तिथिअथवा घटस्थापनाको दिनदेखि दशमी तिथि
अर्थात् विजयादशमी अथवा टीकाको दिनसम्म नाच्ने गरिन्छ । विजयादशमीका दिन साँझमा नाच गर्दै गीत गाउँदै जाने र नजिकको पोखरी वा नदीमा
यी झिझियाहरूलाई जलमा प्रवाह गरी विसर्जन गरिदिने गरिन्छ । झिझिया नाच भइरहेको बखतमा अत्यन्त रमाइलो देखिन्छ । झिझियाका प्वालहरूबाट दियोको प्रकाश बाहिर निस्केको चकमक–चकमक भइरहेको दृश्य अति मनमोहक हुन्छ । यस समयमा एउटा सावधानी राख्नुपर्ने हुन्छ, त्यो के हो भने
झिझियालाई टाउकोमाथि राखिसकेपछि टाउकोलाई स्थिर अवस्थामा पारेर राख्नु हुँदैन, अलिअलि भए पनि घुमाइराख्नु पर्दछ, अन्यथा यदि बोक्सीले झिझियामा रहेका प्वाललाई गन्ती गर्न सक्यो भने उसको मन्त्रवाण नाच्ने व्यक्तिमाथि लाग्नसक्ने सम्भावना हुन्छ, त्यसैले चलाइराख्नु पर्दछ भनी लोक–विश्वास
रहेको पाइन्छ । यसप्रकार, यस नाचमा देखिने माटोको घट, त्यसमा असंख्य प्वाल, घटभित्र प्रज्वलित दीप, असंख्य प्वालबाट बाहिरिने प्रकाश, नर्तकीको टाउकोमाथि टाँसिएर रहेको ज्योतिमय घट, नाच गर्दा बनाइने वृत्त, नाच्दै गर्दा दुबै हत्केला द्वारा बजाइरहने थपडी मुद्रा, नाचको खास लय र ताल इत्यादि
कुराहरूले यस झिझिया नाचलाई विशुद्ध रूपमा तान्त्रिक नाचको श्रेणीमा राखेको पाइन्छ । झिझिया नाचको अवसरमा गाइने गीतहरूमा श्रीदुर्गा भवानीका विनतीपरक गीत हुने गर्दछन् ।

यसका साथै समाजमा रहेका बोक्सीहरू प्रति कुवाच्यको प्रयोग तथा तिनीहरूलाई चेतावनी र चुनौतीहरू दिइएका जस्ता शब्दहरूको व्यवहार पनि झिझिया गीतमा पाइन्छन् । श्रीदुर्गामातालाई मिथिला क्षेत्रमा भगवतीमाता तथा महारानीजी पनि भनिन्छ । यस क्षेत्रमा खासगरी सप्तमातृकाको अवधारणाल व्यापकता
पाएको देखिन्छ । मिथिलाञ्चलका ग्रामीण क्षेत्रमा प्रायः प्रत्येक गाउँको ग्रामदेवताको स्थानमा श्रीमहारानीजीको गहवर–स्थान रहेको हुन्छ, जहाँ सातओटा माटाका पिण्ड–आकृतिको स्वरूपमा श्री भगवतीको स्थान बनाइएको हुन्छ । यसलाई अर्को शब्दमा “सातो बहिन भगवती” भनेर सप्तमातृकाको पूजन गर्ने गरिन्छ । अर्कोतिर, नवरात्राको अवसरमा प्रायः बोक्सीहरू आफ्ना तन्त्र–मन्त्र विषयक अभिचारात्मक क्रियाकलाप बढी गर्ने
हुन्छन्, जसबाट समाजमा भय उत्पन्न गराउने हुन्छ । यस्तो भयबाट बाल–बालिकाहरूलाई बढी नै डर हुने विश्वास समाजमा पाइन्छ । यसकारण नवरात्राको पहिलो दिन अर्थात् घटस्थापनाका दिन नै आफ्ना बाल– बालिकाको घाँटीमा लसुनका सातओटा गेंडामा हिंग लगाएर बाँधिदिने गरिन्छ, जसले यिनीहरूलाई बोक्सीको तन्त्र–मन्त्रको प्रकोपबाट बचाउने गर्दछ । बोक्सीलाई समाजमा दुःख दिने व्यक्तिको रूपमा बुझिएको देखिन्छ ।
यस नवरात्राको अवसर पारेर देखाइने झिझिया नाचमा पनि जुन गीतहरू गाइने गरिन्छन्, ती गीतमा समेत बोक्सीकालागि अपमानजनक शब्दहरूको व्यवहार गरिएको हुन्छ एवम् समाजका बाल–बालिकाको रक्षा गर्नकालागि श्रीदुर्गामाता सित प्रार्थना गरिएको हुन्छ । वास्तवमा यो झिझिया नाच भनेको एकप्रकारको
टुनामुनाको रूप पनि बुझिन्छ, जसले अर्काको कुदृष्टिबाट बचाउने गर्दछ । मिथिलाञ्चलको भूभागको क्षेत्र विस्तृत रहेको छ । प्रत्यक्ष रूपमा यो भूभाग अहिले नेपाल र भारत गरी दुई राष्ट्रमा फैलिएको छ । भनिन्छ कि चारकोशको सिमानापछि बोली बदलिन्छ । यसरी सम्पूर्ण मिथिलाञ्चलको क्षेत्रमा क्षेत्रगत हिसाबले पनि बोली, व्यवहार इत्यादिमा केही फरक देखिनु स्वाभाविकै हो । यसरी स्थानीयताको आधारमा पनि रीति र व्यवहारमा फरक पर्ने भएकाले यस झिझिया नाचको प्रकृति, प्रक्रिया, स्वरूप, व्यवहार र यस अवसरमा गाइने गीतहरूको भाका, शब्द, ध्वनि, दर्शन, सन्देश इत्यादिमा भिन्नता रहनु पनि त्यतिकै स्वाभाविक हुन आउँदछ । यसरी, यो विषय पनि सांस्कृतिक पर्यटन प्रबद्र्धनकोदृष्टिले महत्वपूर्ण मान्न सकिन्छ ।

यसप्रकार, झिझिया नाच मिथिलाञ्चलको एउटा अति प्रसिद्ध र लोकप्रिय नाच हो । मिथिला क्षेत्रका निवासी बाहेक देशका अन्य समाजका व्यक्तिहरूकालागि यो अत्यन्त आनन्दकारी र रमणीय दृश्य हुन्छ ।यो नाच विदेशी पर्यटकहरूकालागि झन् आनन्ददायक हुन्छ । यस नाचको अवधारणामा मिथिलाको संस्कृति
लुकेको देखिन्छ, अतः यस विषयमा अध्ययन र अनुसन्धान गर्ने व्यक्तिकालागि पनि यो झिझिया नाच एउटा खोजको विषय हुनसक्दछ । आज हामी बोक्सीप्रथालाई सामाजिक कुप्रथा एवम् बोक्सीप्रति गरिने व्यवहारलाई अमानवीय व्यवहारको रूपमा लिने गरेका छौं । देशको कानूनले पनि यस प्रति सचेत गराएको छ । अर्कोतिर,झिझिया नाचले मिथिलाको समाजमा व्याप्त रहेको एकप्रकारको लोकविश्वास तर्फ पनि संकेत गरेको हुन्छ । यसबाट मिथिलाको संस्कृतिको एउटा पृष्ठ हाम्रो समक्ष प्रकट हुन्छ । यसरी, झिझिया नाच मिथिलाञ्चलको सांस्कृतिक पर्यटनलाई प्रबद्र्धन गर्ने विषयको रूपमा स्थापित रहेको देखिन्छ